च्याटवोटको शुरुवात
2 years ago
माघ २५ गते २०८०, काठ्माडौं ।
लगनखेलस्थित मानसिक अस्पतालमा किशोरकिशोरीको मानसिक स्वास्थ्य इकाई आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक औपचारिक कार्यक्रमको बीच इकाईको समुद्घाटन गर्नुभएको हो । सिविन–नेपाल र फोरुट नर्वेसँगको साझेदारीमा संचालनमा आएको इकाईमा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारकालागि वरिरंग र अन्तरंग, दुवै सेवा संचालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर वस्नेतले, मानसिक अस्पतालमा संचालनमा आएको मानसिक स्वास्थ्य इकाई, नेपालको मानसिक स्वास्थ्य उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको टिप्पणी गर्नुभयो । इकाईको स्थापनामा सिविन–नेपालको योगदानको प्रसंसा गर्नु हुँदै मन्त्री बस्नेतले बालबालिकाको स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारको प्राथमिकतालाई सिविनले सघाइरहेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । बालबलिकाको मानसिक स्वास्थ्यको कुरा गर्दा उपचारात्मक मात्र नभई रोकथाममा पनि ध्यान दिनुपर्ने भन्दै मन्त्री बस्नेतले, बालबालिकाको शिक्षा, पारिवारिक अवस्था, वातावरणमा समेत काम गर्नुपर्ने धारणा राख्नुभयो । सरकारी स्तरबाट संचालित अस्पतालमा किशोरकिशोरीका लागि नेपालकै पहिलो अन्तरंग सेवा संचालनमा आउनुले गौरव बोध गराएको उहाँले बताउनुभयो ।
समारोहलाई सम्बोधन गर्नु हुँदै ललितपुर क्षेत्र नम्बर २ का संघीय सांसद प्रेमबहादुर महर्जनले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि आफूले संसदमा पनि कुरा उठाउने बताउनु भयो ।
यसैगरी नेपालका लागि नर्वेली राजदूत तोरुन ड्रमडालले नेपाली बालबालिका तथा किशोरकिशोरीको मनोस्वास्थ्य प्रवद्र्धनका लागि फोरुट–नर्वे मार्फत सहयोगी हुन पाएकोमा नर्वेली सरकार तथा जनताका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नु हुँदै नर्वेको सहयोग यस क्षेत्रमा निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली किशोरकिशोरीका तर्फबाट राष्ट्रिय किशोरी सञ्जाल मधेश प्रदेशका सदस्य खुशी चौरसियाले मानसिक अस्पताल परिसरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाईको स्थापनाबाट समस्यामा परेका किशोरकिशोरी लाभान्वित हुने बताउनु हुँदै यस सेवालई देशव्यापी बनाउनु पर्ने धारणा राख्नुभयो ।
सिविन–नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले संस्थाले बालबालिकाका तथा किशोरकिशोरीको मनोस्वास्थ्य अधिकारका क्षेत्रमा गरेका कामहरूको उल्लेख गर्नुहुँदै मानसिक अस्पताल भित्र किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई स्थापनामा सहयोगी हुन पाएकोमा खुशी व्यक्त गर्नु भयो । साथै सरकारले आउने बजेटमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारकालागि आवश्यक दक्ष जनशक्तिको दरबन्दीको व्यवस्था गर्न आग्रह समेत गर्नुभयो ।
मानसिक अस्पताल विकास समितिका अध्यक्ष मधुकर तुलाधरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारी, कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागका टिम लिडर डा अरुण कुँवरले पनि आ–आफ्ना विचार राख्नुभएको थियो ।
सिविन–नेपालले सन् २०१५ को ठूलो भुइचालो लगतै कान्ति बाल अस्पतालसँगको सहकार्यमा, अस्पताल प्रांगणमा नेपालको पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा संचालनमा ल्याएको थियो । बहिरंग सेवा उपलब्ध भएपनि किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारकालागि भने मानसिक अस्पतालमा थालिएको अन्तरंग सेवा नेपालको पहिलो हो ।







